🙏 विश्व शान्ति, करुणा र मैत्रीको सन्देश बोकेर १८ सदस्यीय अन्तर्राष्ट्रिय टोली बुद्ध जन्मस्थल लुम्बिनीमा आइपुग्यो 🙏
लुम्बिनी। विश्व शान्ति, करुणा र मैत्रीको सन्देश फैलाउने उद्देश्यले सञ्चालन गरिएको ‘Walk For Peace’ (शान्ति पदयात्रा) टोली आइतबार बुद्ध जन्मस्थल लुम्बिनी आइपुगेको छ। भियतनामी भिक्षु पन्याकर को नेतृत्वमा रहेको १८ सदस्यीय टोलीसँगै अलोका नामक कुकुर पनि यात्रामा सहभागी रहेको छ, जसलाई शान्ति र सहअस्तित्वको प्रतीकका रूपमा हेरिएको छ।
टोलीले लुम्बिनीस्थित अखण्ड शान्ति दीप देखि मायादेवी मन्दिर सम्म शान्ति पदयात्रा गर्दै पूजा, प्रार्थना तथा ध्यान कार्यक्रम सम्पन्न गरेको थियो। पदयात्राका क्रममा भिक्षुहरूले बुद्धका शान्ति, करुणा, मैत्री र अहिंसाका शिक्षाहरू जनसमुदायसम्म पुर्याउने प्रयास गरेका थिए।
कार्यक्रममा सहभागीहरूले विश्वभर बढ्दो द्वन्द्व, हिंसा र असहिष्णुताको अवस्थामा शान्ति, सद्भाव र मानवताको सन्देश अझ सशक्त रूपमा फैलाउन आवश्यक रहेको धारणा व्यक्त गरेका थिए। टोलीले यात्रामार्फत विभिन्न समुदायबीच आपसी सम्मान, समझदारी र सहकार्यको भावना अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ।
बुद्धको जन्मभूमि लुम्बिनीमा सम्पन्न यस विशेष पदयात्राले शान्ति, करुणा र मैत्रीका सार्वभौमिक मूल्यहरूलाई पुनः स्मरण गराउँदै विश्व मानव समुदायलाई सकारात्मक सन्देश दिएको सहभागीहरूले बताएका छन्।
नमो बुद्धायः
☸️ भवतु सब्ब मङ्गलं । ☸️